श्रीगणेशायनमः

जय कुलदेवी जय भवानी

हाम्रा ऋतितिथी, संस्कार र हामी मल्ल कूल

 

संस्कार संस्कृति सभ्यताको मूल रुप हो । यसले जीवनलाई एउटा पद्धतिमा राख्दछ । यीनै संस्कार अन्तर्गतको नियम र त्यस प्रतिको निष्ठाले मानव परिवार र समाजलाई सभ्य र समृध्द वनएर विषिष्ठ श्रेणीमा पुर्‍याउ‘दछ ।

गर्भाधान देखी मृत्यू सम्मको संस्कार हाम्रा महर्षी तथा विद्वानले परापुर्व काल देखी वनाई चलनमा ल्याएका छन् । यिनै संस्कारहरुलाई पालना र प्रयोग गर्न विषेस मुहुर्त र साईतहरुको पनि ब्यवस्था गरिदिएका छन् । जसले शुद्ध मुहुर्तमा यी कार्यहरु गर्दछ त्यो कार्य निश्चित रुपमा सफल हुने गर्दछ । आजभोली यी कार्यहरुलाई अलिक हलुका संग लिइने गरेको छ र गर्ने प्रकृयालाई आफनो मनपरी रुपले परिवर्तन गर्ने गरिएको छ । फलस्वरुप, त्यसवाट प्राप्त हुनु पर्ने फलमा ह्रास आउन थालेको छ । यस्ता कार्यहरुलाई रुढीवादी परम्पराको संज्ञा दिएर हामी आधारहिन अन्दाजको दिशा तर्फ लम्कदैं छौं भने हामी भन्दा धेरै पछी अस्तित्वमा आएका पश्चिमाहरुको जालसाजीयुक्त प्रभावमा परेका छन् । उनिहरु हाम्रा शाश्त्र अध्ययन गरेर आफ्नै नभएको संस्कारमा मोडिफाई गरेर हामीहरु समक्ष हाम्रै संस्कार उनिहरुको आफ्नो भनेर पस्केका छन् र हामी ग्रहण गर्दै गइरहेका छौं । धनि र पैसा हुनेहलाई समाजमा ठूला मान्छे हुन भन्ने भ्रमजालमा हामीलाई फसाईरहेका छन् र हामी फस्दै गइरहेका छौं र दासता तर्फ उन्मुख भइरहेका छौं । मानिसहरु द्रब्यलाई महत्व दिएर त्यसैको मोहजालमा अल्झी रहेका छन । द्रब्य भएमा सुख हुन्छ भन्ने धारणामा मानीस भ्रमृत भईरहेका छन् ।

जव सम्म एउटा परिवार भित्रको मानिसले आफुले गर्नै पर्ने संस्कार गर्ने गर्दैनन् त्यस्तालाई पैसा भएर पनि सुख र शान्ती प्राप्त कतै हुदैन । अतः हामी मल्ल कूलले यहि कुरा बुझेर नै आपसमा यस विषयमा छलफल गरी आफ्नो मूल संस्कारलाई एककिृत गरी शाश्त्रीय आधारमा रहेर समयानुकुल यथोचित हाम्रा संस्कार र त्यसको प्रयोग विधी तयार गर्ने निधो यस कारणले पनि गर्यौं की हाम्रा कुलका सन्तान संसारको धेरै ठाउमा वसोवास गरेको र उनिहरुले गर्ने संस्कारहरु पनि जहा वसेको छ त्यही ठाउको समाजको संस्कारवाट प्रभावित भई आफ्नो संस्कारलाई ओझेलमा पार्दै जान लागेकोले र संस्कारलाई पूर्खाहरुको अमूल्य धरोहरको रुपमा जिवितै राखीरहन लिखित रुपमा आफ्नो वेवसाईट खोली ईन्टरनेटमा सन्तानको जानकारीको लागी राख्न यो प्रयाश भएको छ ।

सवै भन्दा पहिले त हाम्रो चालचलन र रिती तिथिको संस्कार, परापूर्व कालमा ऋषिमुनीहरु र पुर्खाहरुले धान्दै आएको र हामीले पनि निरन्तरता दिनै पर्ने संस्कारहरु तल उल्लेख गरे अनुसार रहेका छन् । पहिले तिनैको यहा उल्लेख गर्न उचित ठान्दछु ।

हाम्रो संकार निम्न छन्
१. गर्भाधान
२. पुंसवन
३. सीमन्तोन्नयन
४. जात कर्म
५. नामकरण
६. निष्क्रमण
७. अन्नप्राशन
८. चुडाकमण (मुण्डनं)ं
९. कर्णबेध
१०.विध्यारम्भ
११.ईही (वेलविवाह)
१२.गुफा (सूर्य दर्शन)
१३.उपनयन (ब्रतबन्ध)
१४.केशान्त
१५.समावर्तन
१६.विवाह
१७.अग्न्याधान
१८.चौरासी (जंकु)
१९.अन्त्येष्ठी
२०.श्राद्ध

१. गर्भाधान संस्कारः
बंशको परम्परा कायम राख्न र उच्च कोटीको सन्तानलाई जन्म दिनको लागी यो संस्कार गरिन्छ । त्यसैमा पनि नरनारीको मिलन स्वभाविक प्रकृति र प्रवृत्ती होे । तर सन्तानोत्पत्ती भन्दा पूर्व शारिरिक, मानसिक र आर्थिक रुपवाट सक्षम हुन भने जरुरी हुन्छ । सन्तानोत्पत्ती मात्र कामावासना मात्र नभई पुरुषार्थ एवम् उत्तम सन्तान प्राप्तीको मूख्य उदेश्य हुन्छ । यसैले उपयुक्त मुहुर्तमा गर्भाधान गर्न शाश्त्रमा निदेशन दिइएको छ । हाल यी कुरालाई बैज्ञानिक तथ्य भए पनि धेरैले वास्ता गरेको पाईदैन फलस्वरुप परिणामहरु सामुन्य छन् ।
क). शाश्त्रमा उल्लेख अनुशार, मासिक धर्मको दिनवाट ८ वा १६ औं दिनको रात्रीमा क्रमश पुत्र प्राप्तीको लागी ८, १०, १२,
१४, १६ र पुत्री सन्तानको लागी ९, ११, १३, १५ रात्री उपयुक्त भनिएको छ ।
ख) शुभ बारः सोम, वुध, विहिवार एवम् शुक्रवार
ग) शुभ तिथिः औंसी, पूर्णिमा, षष्ठी एम् भद्राको अतिरिक्त तिथि

गर्भ रहेको वेला ध्यान दिनु पर्ने कुराहरु
जस्तै गर्भिणी वस्ने कोठामा राम्रा देवीदेवताका तश्वीरहरु का साथै अन्य रमाईला तस्वीर हरु राख्ने । त्यस्तै मन प्रफुल्ल हुने गित तथा वाजागाजा सुन्ने । सवै असल लाग्ने काम कामहरु गर्ने इत्यादि । किनभने आमाको यस्तो क्रृयाकलापवाट गर्भमा रहेको बच्चामा प्रभाव पर्दछ भन्ने भनाई छ । अर्को महत्वपूर्ण कुरा के छ भने ग्रहण लागेको वेलामा पेर्ला छुनु हुदैन त्यसो गरेमा नीलो, कालो वा खैरो ग्रहण दाग भएको बच्चा जन्मन सक्छ भन्दछन् । डोरी, चुलेसी खुकुरी आदि हतियारलाई नाघ्न हुदैन भनिएको छ । वलि दिएको मारकाट गरेको हेर्नु हुदैन र श्रीमानलाई पनि त्यस्तो कार्य गर्न दिनु हुदैन । यहा सम्मकी दशैंमा काटिने कुभिण्डो समेत काटन हुदैन भनिएको छ । भोग चल्ने देवीदेवता जस्तै काली, भगवति, कुमारी जाने गरिन्न । मरेको केही पनि हेर्न वर्जित गरिएको छ । श्रीमान मलामी पनि जान हुदैन त्यहा केही छुनु हुदैन । आमाले खाने कुरा खादा वच्चाको र आफ्नो जीउ लाग्ने खालको खाना खानु पर्दछ र धित मरुञ्जेल खानु पर्दछ नत्र इच्छा बमकी रहे वच्चा र्‍याले जन्मन्छ भनिन्छ ।

२. पुंसवन संस्कारः
यो संस्कार गर्भाधान पछी ६० देखी ९० औं दिन अर्थात ३ महिना भित्र गरिन्छ । तिन महिना पछी गर्भाधान भयो भनेर परिवारलाई सुचना दिइन्छ । किनभने यतिखेर बच्चाको लिंग निर्धारण भइसकेको हुन्छ र पुंसवनको अर्थ पनि यही हो । अब उप्रान्त हुनेवाला बच्चाको आमा र गर्भस्थ शिसुको जन्म पछि पनि स्याहार गर्न एकजना सुसारे नियुक्त यहिवेलामा गरिन्छ । तर आजकल गर्भिणी हुने वित्तिकै गाएनाकोलाजिष्ट काहा गएर परामर्श र सेवा लिने चलन छ । यसैले यो चलन अलि हराउदै गएको छ । तर गर्भ राम्रो होस सुरक्षित होस भनेर वत्ति वालीदिने चलन पनि छ ।

३. सीमान्तोपनयन संस्कारः
नेवारहरुले आड मनिाको गर्भलाई विशेष महत्व दिन्छन र वहतै होस परयाएर स्याहार गर्दछन । सात मनिा हुदा बच्चाको सबै कर्मेन्द्रिय बनिसकेको हुन्छ । नौ महिना हुदा कर्मेन्द्रियहरु सही विकशित भइसकेको हुन्छ । सात महिनामा जन्मेको बच्चा बच्न सक्दछ तर आठ महिनामा जन्मेको बच्न गाह्रो हुन्छ भनिएको छ तर अपवाद पनि छ । यसको लागी हारती अजिमाको नाममा रक्षाको लागी वत्ति वाल्ने चलन छ । सुसारे वा धाई आमाले बच्चा नजन्मे सम्म दिनु पर्ने सल्लाह र जन्मदा के गर्ने कुरो सिकाईदिने भन्नेनै सीमान्चोपनयन संस्कार हो तर यी कुरा आजभोली डाक्टरहरुवाट नै गरिन्छ ।

४. जातकर्म संस्कारः
यो शिशु जन्मे पछी गरिने संस्कार हो । यो संस्कार सुनको शलाकावाट घ्यू र मह बालकलाई चटाईन्छ र वालको जिभ्रोमा झ् अक्षर लेखिन्छ । यो संस्कारमा पिताले यसरी प्राथना गर्दछ की, “मेरो सन्तानको बुद्धि वज्रको समान दृढ र परशुको समान तीक्ष्ण र वर्णको समान दिव्याभास भएको होस” । यसमा कुनै मुहुर्त छैन । यदि जन्मको समयमा पिता कुनै कारणले अनुपस्थीत भए यो संस्कार सम्पन्न नभए नामकरण मुहुर्तमा पनि यो संस्कार गर्न सकिन्छ ।

यहाँ निर एउटा त्यति थाहा नभएको तर प्रचलित चलनको कुरा उल्लेख गर्न चाहान्छु । बच्चा जन्मेको छैटौं दिनमा भाविले बच्चाको भाग्य भविश्य लेख्न आउछन् भन्छन । यसैले छैटौं रातमा बच्चाको सिह्रानी नेर एउटा कापी र कलम राखिदिने गरिन्छ । यसको लागी पनि गर्नु पर्ने विधि छन जुन गर्नको लागी पुरोहित संग सल्लाह लिनु पर्ने हुन्छ ।

५) नामकरणः
कुनै पनि वस्तुको ज्ञान, नाम विना हुदैन । संस्कारको सवै ब्यवहार नामको आधारमा निहित रहेको हुन्छ । यसकारण यही संस्कार द्धारा बच्चालाई नाम प्रदान गरिन्छ । बच्चाको नाम ज्योतिषको दृष्टीवाट जन्म नक्षत्र अनुसार सुगम र सरल हुनु पर्दछ ।
क) शुभ मुहुर्त ः यो जन्मदिनवाट १०, ११, र १२ दिनमा हुन्छ ।
ख) नियतकालिक भएकोले यसमा गुरु (शुक्र अस्त र मलमासको) विचार हुदैन ।
ग) समयः पूर्वान्ह या मध्यान्ह ।

६. निष्कमण संस्कारः
निष्कमण भनेको घरवाट निकाल्ने भन्ने वुझिन्छ । नवजात शिशुको समाजमा गतिशिलता प्रारम्भ गर्नको लागी निष्कमण संस्कार गरिन्छ । यो संस्कारमा बच्चाहरुलाई सूर्यको किरण र स्वच्छ हावा प्रदान गर्ने उदेश्य हो ।

७. अन्नप्राशनः यसको अर्थ हो वच्चालाई पहिलो पल्ट अन्न खुवाउने । यस अघि बच्चा आमाको दुधमा आश्रित रहेको हुन्छ । बच्चाको दात आएपछि शरिरमा पुष्टी र विकाशको लागी ठोस आहारको आबश्यकचा पर्दछ । ऋग्वेदका अनुशार अन्न नै प्राण हो र यसैको महत्व यो संस्कारमा वताइएको छ ।
क) शुभ मुहुर्तः पुत्रको अन्नप्राशन ६ या ८ महिनामा र पुत्रीको अन्नप्राशन ५ या ७ महिनामा ।
ख) शुभ तिथीः २, ३, ५, ७, १०, १३ र १५ ।
ग) शुभ बारः सोम, बुध, गुरु र शुक्रवार ।
घ) शुभ नक्षत्र रोहिणी, पुर्वसु, स्वाति, श्रवण, धनिष्ठा र शतभिषा (यसका साथै लग्न र अन्य दोषहरु वारे ज्योतिष वा पुरोहित संग सल्लाह गर्ने)

८. चुडाकर्म या मुण्डन संस्कारः
चुडा भनेको शिखा हो अर्थात बोलिचालीको भाषामा हामी टुप्पी भन्ने गर्दछौं । शिशुको दिर्घायु तथा सुन्दरताको लागी मुण्डन संस्कार गरिन्छ । गर्भावस्थाको केसलाई पहिलो पल्ट खौरनु नै मुण्डन संस्कार हो । शुभ समयमा यो संस्कार गर्दा आयुमा बृद्धि हुन्छ भन्ने छ । स्वास्थ्यको दृष्टीले पनि मुण्डन गर्नाले, चिलाउने, दाद रोग हुदैन भन्नेकुरा आयुर्वदमा मा उल्लेख छ । तालुको रक्षाको लागी पनि शिर मुण्डन आबश्यक छ र त्यसपश्चात श्रीखण्डको लेपले तालुमा मालिस गरिन्छ । बच्चाको उमेर ३ वर्ष देखी ७ वर्ष भएपछी साईत हेरेर गर्न मिल्दछ । तर बच्चा ५ वर्ष पुगेको छैन र आमा ५ महिना भन्दा वढिको गर्भिणी छ भने त्यस्तो वेलामा यो संस्कार गर्नु नहुने लेखिएको छ । चुडाकर्म गरेपछी ५ या ६ वर्ष पछी ब्रतबन्ध गर्ने गर्दछन । चुडाकर्म गर्न नपर्नेहरुको एकैचोटी बतबन्धनै गर्दछन । कान पनि यतिखेरै छेडिन्छ, यो भन्दा पहिले कान छेडिदैन । मामाले एकदिन अघि आएर टुप्पीको भाग छानी सुनको औंठी वाध्ने गर्दछन ।
क) शुभ मुहुर्तः चैत्र महिना बाहेक उत्तरायणमा यो संस्कार गर्न शुभ हुन्छ ।
ख) शुभ समयः ३ या ५ वर्षमा ।
ग) जेष्ठ पुत्रको मुण्डन जेष्ठ महिनामा गर्नु हुदैन ।
घ) शुभ तिथिः २,३, ५,६,७,१०, ११, र १३ । शुक्लपक्ष विषेस शुभ अनि कृष्णपक्ष पञ्चमी सम्म शुभ ।
ङ) शुभ बारः सोम, बुध, गुरु र शुक्रवार ।
च) शुभ नक्षत्रः ज्येष्ठा, मृगशिरा, रेवती, चित्रा अश्विनि, पुष्य, स्वाति, पुनर्वसु, श्रवण, धनिष्ठा र शतमिषा ।
छ) शुभ लग्नः २,३,४,६,९ र १२ लग्न र यहि राशीको नवमास ।
ज) अष्टम भाव ग्रहरहित होस । चन्द्रमा र तारा शुभ होउन ।
झ) सप्तसलाका चक्रमा नक्षत्र पापग्रहवाट पेध हुनुहुदैन ।
ञ) अधिकमास, क्षयमास र गुरु शुक्र अस्त हो ।
अन्य जानकारी आफ्नो पुरोहित संग पनि सल्लाह गर्न सकिन्छ ।

९.कर्णभेद संस्कारः
कान छेड्ने संस्कार । यो कार्य सुनार या कुसल ब्यक्तीवाट कान छेडनु पर्छ । यो संस्कार गर्नुमा दुई कारण छन् । एउटा रक्षाको लागी अर्को सुन्दरताको लागी आभुषण लगाउन । आयुर्वेदका महर्षी शुश्रुतका अनुसार कानमा प्वाल पार्दा कुनै यस्तो नशामा पर्दछ जसले धेरै थरिको रोग लगायत हर्निया रोग लाग्दैन । यो संस्कार माथी उल्लेख गरे अनुसार चुडाकर्म गर्दा पनि गर्न संगै गर्न सकिन्छ ।

१०. अक्षराम्भ संस्कारः
यो संस्कार शिक्षा प्रारम्भ गर्ने संस्कार हो । भाषा एबम् लिपिको ज्ञान शुभ तिथि नक्षत्रमा शुरु गरिन्छ ।

११. ईही (वेलविवाह)ः
यो संस्कार खास गरी केटीहरुको लागी गरिन्छ । यो मात्र नेवारी जातीमा गरिने संस्कार हो । रज्वस्ला हुनु अघिनै केटीहरुको सौभाग्यको लागी यो संस्कार गरिन्छ । मात्र विजोर गते जस्तै १,३,५,७ अदिमा गरिने र ४ देखी ८ वर्षको विच अवधिमा विवाहको साईतमा वैवाहिक तरिकाले नेवार पुरोहितवाट मात्र यो संस्कार कार्य गरिन्छ । यसमा कन्याको पतिको रुपमा वेलफल लाई मानिन्छ । स्मरण रहोस की वेल कहिले पनि सुक्दैन र ताजा जस्तै वसिरहन्छ । यसको आफ्नै कार्यविधिहरु छन् जुन नेवार पुरोहितले गर्दछन । यो एकल वा सामुहिक रुपमा पनि गरिन्छ । भनिन्छ यो संस्कार गर्नाले केटी सदाको लागी सौभाग्यवति हुन्छ । बेल संग विवाह गरिसके पछी, पछी विवाह गरेको पतिको मृत्यु पश्चात पनि उसले विधवाको जस्तो बन्धनमा बस्नु पर्दैन । यसमा विवाहमा जस्तै केटीलाई गुन्युचोलो सिंदुर पोते धागो, गरगहनाले ईत्यादिले सजिसजाउ गरी धुमधाम संग वेल संग विहे गरिन्छ ।

१२. गुफा राख्ने (सूर्यदर्शन)ः
यो संस्कार पजि केटीहरुको लागी मात्र गरिने संस्कार हो । केटीको उमेर ३ देखी ८ वर्षका भएपछीे गरिने संस्कार हो । यो संस्कारको महत्वपूर्ण पक्ष के हो भने केटीहरु पहिलो रजोश्वला हुनु अघिनै गरिनु पर्ने संस्कार हो । यो संस्कारमा केटीलाई एउटा खास साईतको दिनमा घरको उपलब्ध भएसम्म भुइतल्लामा एउटाकोठामा प्रकाश पनि छिर्न नपाउने गरी ब्यवस्था मिलाएर राखिन्छ । पुरा १२ दिन सम्म केटीलाई तयो घामको प्रकाश नछिर्ने कोठामा राखिन्छ । उनलाई साथी र मनोरञ्जनकोे लागी अरु केटी साथीहरु वा दिदी वहिनी वा आमाहरु वस्न सक्दछन् । तर छोरा मान्छेहरुले हेर्न चाही एकदमै वर्जित गरिएको हुन्छ । यहा सम्म की गुफामा बस्ने केटीले आफ्नै दाजुभाई वा वुवाको आवाज सम्म सुन्नु हुदैन । आफ्नो जातको वाहेक अन्य जातको आइमाईहरुले पनि भेटघाट गर्न वर्जित गरिएको छ । १२ दिन सम्म भित्र बस्दा घरका नसनातेदारहरुले खाजा भनेर केटीलाई ख्वाउनको अनेक प्रकारको खानेकुराहरु वनाएर ल्याउने चलन छ । उसलाई गाह्रो नहोस भनेर सकेसम्म विचार गरिन्छ । शौचइत्यादि पनि वेलुकीको समयमा मात्र गराईन्छ । १२औं दिनको दिन केटीलाई दुलहीको रुपमा श्रींगार गरेर घुम्टो ओढाई घरको मुलढोका अगाडी ल्याइन्छ र विभिन्न पुजाआजा गरीन्छ र अन्तिममा घुम्टो खोली सूर्यको दर्शन गराईन्छ । यसरी वेल विवाह पछि सूर्यदेव संग पनि केटीको विवाह गुफा वसाई पश्चात गराईन्छ । यो वेलामा नसनातेदार र ईष्टमित्रहरुलाई निमन्त्रणा गरी भोज पनि ख्वाउने चलन रहेको छ ।

१३. उपनयन संस्कारः
यो भनेको वच्चालाई विध्या आर्जनको लागी आचार्यकहा वा स्कुलमा लाने । उपनयन संस्कार विधिवत शिक्षाको प्रारम्भ गर्नु हो । यो वेलामा मूख्य काम यज्ञपवित धारण गर्नु हो । यो संस्कार गरिसकेपछी वालक द्धिज कहलिन्छ जसको अर्थ दोस्रो जन्म हुन्छ । जन्मदा सवै वच्चा एकैनासको हुन्छ तर संस्कारहरुवाट बच्चालाई संस्कारित गरी मनुश्य वनाईन्छ । यसैले उसलाई संस्कार पछी द्धिज भनिन्छ । उपनयन पछी वालकलाई विद्धयालयमा लगी शारिरिक, मानसिक, बौद्धिक, नैतिक र आध्यात्मिक विकाश गराईन्छ । यो जरुरी संस्कार हो तर आजकल भने यो संस्कारलाई अलि अलग ढंगले गरिने गरेको छ ।

१४. केशान्त संस्कारः
जव वालकको दाह्री जुंगा निस्कन्छ अनी उ यौनावस्थामा प्रवेश गर्दछ । उपनयनको समयमा लिएको ब्रहमचारीको स्मरण गराउदछ ताकी सांसारिक विषयहरु र भोगवाट प्रभावित र विचलित नहोस । यो संस्कार सोह्र वर्षमा गरिन्छ ।

१५. समावर्तन संस्कारः
शिक्षा समाप्त गरी घर फर्कनुलाई समावर्तन भनिन्छ । गुरुकुल वा विध्यालयवाट हरेक किसिमको नैतिक आध्यात्मीक र अन्य धेरै कौशल्यको शिक्षा पुरा गरी घर फर्केको हुन्छ । आजकल यो कुरा अलि भिन्न भएको छ । तर आजभोली पढाई सम्पन्न भए पछी दिक्षन्त समारोह गर्ने चलन छ । यसवेलामा उपकुलपति द्धारा निम्न उपदेश दिइन्छः सदैव सत्य वोल्नु, धर्मको आचरण गर्नु, स्वाध्यायमा प्रमाद नगर्नु, सत्य एवम् धर्ममा दृढ रहने र सत्य र धर्ममा प्रमाद नगर्ने ।

१६. विवाह संस्कारः
यो संस्कार सवै भन्द महत्वपूर्ण संस्कार हो । यसले पिंढीलाई प्रभावित पार्दछ । १.बरवधु, २.मातापिता ३. भावी सन्तान । विवाह शारिरिक मिलन, पतिपत्नीको आमोदप्रमोद, सम्पत्तीका अधिकार मात्र नभई सार्वजनिक रुपवाट उसको पारिवारिक एवम् सामाजिक दायित्वलाई आपसमा मिलेर निर्वाह गर्ने सौभाग्य प्राप्त गर्नु हो ।

१७.अग्न्याधान (सन्यास) संस्कारः
संस्कारको प्रारम्भ भोग हो र अन्त त्याग हो । यहि ब्यवहारिक सत्यमामा हाम्रा पुर्वज चलेका थिए । भोगको तात्पर्य जीवनको भोगवाटनै प्रारम्भ गर्नु पर्दट्छ तर त्याग विना भोग पनि सम्भव छैन किनभने अति सर्वत्र बर्जयेत् । यसैले, एक निश्चित मात्राको कुनै पदार्थ या वस्तुको भोगनै लाभकारी हुन्छ । भनाइको मतलव अत्याधिक आशक्ती राम्रो हुदैन । यो संस्कारको पुर्व जति संस्कार मानवाट अपनाइएको छ त्यो एक निश्चित विधि र नियमद्धारा संसारको पदार्थ भोग्न सिकाएको छ ।जव मानीसको अवस्था परिवर्तन हुन्छ हाम्रा ऋषीहरुले उक्त परिवर्तनवाट शरिरमा आउने दैहिक विकार र आधारमा विविध संस्कार द्धारा मनुश्यको पदार्थ भोगको सिमा बाधेका छन् । त्यहि सिमा भित्र रही जुन मनुश्यले आचरण अपनाउछ त्यो ब्यक्ति सम्पूर्ण जीवनभर सुखी र स्वस्थ रहन्छ ।

१८. चौराशी (जंकु)
यो संस्कार कमैले मात्र गर्ने गर्दछन् या त्यो सौभाग्य पाउदछन् । खास गरेर पहाडी क्षेत्र तिर यो ८४ वर्ष लागे पछी गरिन्छ भने उपत्यकाका नेवारहरुले भने ७७ वर्ष ७ महिना र ७ दिन पुगे पछी पहिलो अनि दोश्रो ७९ वर्ष क्रमश ८४ पुगे पछी तेश्रो जंकु गर्दछन । यो संस्कार खास गरी आफ्ना परिवारको जेष्ठ सदस्यलाई सम्मान दिनको लागी आफु वसेको सवै समाजलाई निमन्त्रण गरी पुजाआजा गरी यदि पति वा पत्नी संगै छ भने दुवैजनालाई दुलहा दुलहीको रुपमा श्रृंगारपटार गरी रथमा राखी विभिन्न थरीको वाजागाजा सहित वजार गाउ घुमाइन्छ । सवै ईष्टमित्रहरुले आफ्नो हैसियत अनुसारको उपहार लुगा गरगहना दिई दुवैजनालाई खुसी पारन्छि । उनिहरुले पनि आशिषका साथ आफुले सक्ने उपहारहरु परिवारको सदस्य र चेलिवेटीलाई दिने गर्दछन् । उनिहरुको दिर्घायूको लागी भजनकृतन गरिन्छ र उनिहरुवाट टिका ग्रहण गरी शुभ अशिरवाद थापिन्छ । यसरी यो संस्कार पुरा गरिन्छ ।

माथी उल्लेख सवै संस्कारहरु सम्पन्न गर्दा चाहिने पुजा सरदाम इत्यादि आफनो पुरोहितलाई सोधी थाहा गर्न सकिन्छ नभए वजारमा त्यस्तो ब्यवहार उल्लेख भएको पुस्तक पनि पाईन्छ ।

१९. अन्त्येष्ठीः
हाम्रो शरिर भित्र चेतना रुपी प्राण रहेको हुन्छ । जव यो शरिरवाट निस्कन्छ अनी शरिरको मृत हुन्छ र यो शब वन्दछ । यहि शबको संस्कार नै अन्त्येष्ठी संस्कार हो र मानव जीवनको यहीनै अन्तिम संस्कार हो । मानिसको आआफ्नो संस्कार अनुसार विभिन्न प्रकारले यो अन्तिम संस्कार गरिन्छ । कसैको जमिनमा गाडदछ भने कसैको जलाउने गरिन्छ । यसमा हिन्दुहरुको भने अग्नीले विविध विधी द्धारा संस्कार गरिन्छ । योगर्नको लागी मृतकको उत्तराधिकारी जेठा जो हुन्छ उसै द्धारा यो अन्त्यष्ठीको क्रृया गरिन्छ । सामान्य जीवनमाजहा उक्त तर्फ शिर राखी सुत्न निषेध छ त्यस्तै अन्त्येष्ठी संस्कारमा अग्नीको कोष्टवेदीमा शबको उक्त तर्फ खुट्टा र दक्षिण तर्फ शिर राखी बैद्धिक मन्त्रद्धारा यज्ञवेदीमा अग्नीको आव्हान गरिन्छ र आहुती प्रदान गरिन्छ । यहीनै ब्रम्हरुपी तत्ववाट छुटेर पुनः ब्रम्हरुपी तत्वमा मिल्ने समय हुन्छ । । देहमा स्थित पंचतत्व प्रकृतिमा भएको पंचतत्वमानै विलिन हुन जान्छ । यो संस्कारमा सवैभन्दा महत्वपूर्ण कुरा पञ्चक हो । मृतकको पञ्चक विचार गरिन्छ र अत्यन्त जरुरी पनि छ । यो भनेको चन्द,्र कुम्भ मीन राशीमा भए मृत्यू पंचक हन्छ ।यस स्थीतिमा या त पञ्चक पाच नक्षत्र, धनिष्ठा, शतभिष, पूर्वामाद्र, उत्तराभाद्र, रेवतिको त्याग गर्नुपर्दछ वा जति पञ्चक शेष रहन्छ त्यतिनै कुशको नक्षत्ररुपी पुतलीको पृथक पृथक दाहकर्म गरिन्छ । त्यस पश्चात शबको दाहसंस्कार गरिन्छ । यो गर्नुको तात्पर्य मृत्यू पश्चात सन्तानमा अरुको मृत्यू नहोस भन्नाको लागी हो । ज्योतिषका अनुशार पञ्चक ५ विष्ेस नक्षत्रमा लाग्ने गर्दछ । ति नक्षत्र हुन, धनिष्ठा, शतभिषा, उत्तराभाद्र, पूर्वाभाद्र र रेवति । यो जक्ष्त्रमा कुनै पनि शुभकार्य गर्न वर्जित गरिएको छ । शाष्त्र अनुसार यदि पञ्चकको पा्ररम्भ आइतवारबाट परेको छ भने त्यसलार्य रोगपंचक भनिन्छ सोमवारवाट हुनेलाई राजपंचक, मंगलवारवाट हुनेलाई अगनीपंचक भनिन्छ । यो पंचकमा आगोको भयको सम्भावना बढेर जान्छ । यो पंचकमा औजार खरिद निर्माणकार्य र मेसिनको कायृ गर्नु हुदैन । शुक्रवारको पंचकलाई चोर पंचक र शनिवारको पंचकलाई मृत्यू पंचक भनिन्छ । यी दुवै घातक र अशुभ मानिन्छन ।

१९. श्राद्ध र गरिने तिथि
पृथ्वीवाट हेर्दा सम्पुर्ण आकाश मण्डलको उत्तरी क्षेत्र देवताहरु र दक्षिणी क्षेत्र पितृहरुको वस्ने क्षेत्र मानिएको छ । उत्तरी क्षेत्रमा सूर्यको एवम् दक्षिणी क्षेत्रमा चन्द्रमाको अधिकार हुन्छ भन्ने मान्यता छ । पितृहरुले चन्द्रमावाट शक्ति प्राप्त गर्दछन भने सूर्यको प्रकाशमा असहज महशुस गर्दछन भन्ने मान्यता छ । हाम्रो धर्म शाश्त्रमा उल्लेख भए अनुसार, पिर्तको श्राद्ध, तर्पण आदिको लागी आश्विन कृष्ण पक्षलाई मानेको छ, कारण यस्तो छः

क. आश्विनको कृष्णपक्षमा सूर्य दक्षिणयन हुन्छ मतलव सूर्य दक्षिण गोलार्धमा प्रवेश गरेको हुन्छ । माथी उल्लेख भइसकेको छ की दक्षिण क्षेत्र भनेको पितृको अधिकार भएको क्षेत्र हो ।
ख. आश्विन कृष्णपक्ष पितृ अधिष्ठित अयन–दक्षिणायनको मध्य विन्दु हो ।
श्लोक छः
”यावच्च कन्या तुलयोः
क्रमादास्ते दिवाकरः ।
शून्यं पे्रतपुरं तावद वृश्चिकं यावदागतः।।”
ग. जव सूर्यले क्रमशः कन्या र तुला राशीमा भोग गर्दछ तब सम्म पितृलोक नै शून्य हुने गरी सवैजना यस मृत्युलोकमा आएर पार्वशा श्राद्धादी भोग गर्ने आसा गर्दछन् ।
घ. दक्षिण दिशाको तीन ऋतु मानिएको छ, शरद, हेमन्त र शिशिर । आश्विन कृष्णपक्षवाट शरद ऋतु दक्षिण दिशाको ऋतुको प्रारम्भ विन्दु हो ।
ङ. महिनामा दुइ पक्ष हुन्छ, जुन शुक्ल पक्षमा देवताको तथा कृष्ण पक्षमा पितृको अधिकार हुन्छ ।

यसवाट के प्रष्ट हुन्छ भने हाम्रा पुर्वज तथा ऋषीमुनिहरुले पितृको श्राद्ध, तर्पण एवम् पुजाको लागी आश्विन कृष्णपक्ष चुनेको बैज्ञानिकनै देखिन्छ । अतः पैत्येक ब्यक्तिीले आफ्नो सामथ्र्य अनुसार श्राद्ध, तर्पण, पुजा गर्नु आबश्यक देखिन्छ । पितृहरु केवल भावनाका भोका हुन्छन । यदि कुनै ब्यक्तिको सामथ्र्य छैन भने पनि चिउरा र रोटी मात्रै दान दिएपनि पितृगण सन्तुष्ट हुन्छन भनेर शाश्त्रमा लेखिएको छ । श्लोक छ “श्रद्धया पितृत उदिश्य विधिश क्रियते यत्कर्म तत् श्राद्धम” अर्थात श्रद्धापूर्वक यथासक्य गरिएको श्राद्धकर्मले पितृलाई सन्तुष्ट गराउदछ ।

पितृको श्राद्ध बर्षमा दुईचोटी गरिन्छ । पहिलो मृत्यु भएको तिथिमा र द्धितिय पितृपक्षमा । पहिलो श्राद्धलाई एकोदिष्ट श्राद्ध भनिन्छ । यो गर्ने विधानमा एक पिण्डको दान गरिन्छ र ब्राम्हणलाई भोजन गराईन्छ । दोश्रो चाही आश्विन मनिाको कृष्णपक्षको तिथिमा गरिन्छ । मृूत्यु तिथीमा गरिने श्राद्धमा योग्य ब्राम्हणलाई वोलाएर गरिन्छ जुन गर्नु भन्दा पहिले पञ्चवलि दिने प्रावधान छ । पञ्चवलिमा गाई, कुकुर, काग, अतिदेव पेतादी आदिलाई दिइन्छ । कसैले आफ्नो पुर्वजको तिथी याद छैन भने औसी तिथिमा श्राद्ध कार्य गर्ने चलन छ । यहिवेलामानै भुलचुक ज्ञात अज्ञात को पनि श्राद्ध गरिन्छ । यसरी श्राद्ध गर्दा पितृगणले आफनो बंशजलाई आशिरवाद दिने गर्दछन । यहा एउटा कुरा ज्यादै महत्वपूर्ण छ ।

“वृशिचके समतिक्रान्ते तिरौ दैवतैः सह ।
निःश्वास्य प्रतिगच्छन्ति शातं दत्वा सुदारुणम् ।।

अर्थात तुला राशी भर पितृहरु श्राद्धको लागी पर्खन्छन् । त्यस समय भित्र श्राद्ध, तर्पणादि भोग पाएनन् भने तुला पछी आउने वृश्चिक राशिमा सूर्य प्रवेश भएपछी पितृहरु देवताहरु सहित निराश वनेर डरलाग्दो श्राप दिएर आफनो लोकमा फर्कन्छन् भनिएको छ ।

जान्नुपर्ने कुरा
१. पितृ पुजा पितृको बंशज द्धारानै गर्नुपर्दछ । देवताकोपुजा भने जो कोहीले गर्दापनि हुन्छ ।
२. देव पुजामा उत्तर वा पूर्व मुख गरिन्छ तर पितृ पुजा दक्षिण मुख गरी रहन्छ ।
३. पितृ पुजनमा वाया घुुंडा जमिनमा राखिन्छ भने देव पुजामा दाहिने घुंडा जमिनमा राखिन्छ ।
४. मृतकको जेष्ठ पुत्रलाई श्राध्द गर्ने प्रथम अधिकार हुन्छ । यदि जेष्ठ पुत्र विरामी भएमा उसको स्विकृतिले कान्छोपुत्रले पनि श्राद्ध गर्न सक्छ ।
५. पुत्र जिवित नभए पौत्रले श्राद्ध गर्नु पर्दछ । पौत्र पनि नभए प्रपौत्रले श्राद्ध गर्नु पर्छ ।

माथी जे जति पनि कुराहरु उल्लेख गरिएका छन् ति सवै ब्यवहार गर्नको लागी चाहिने सरदामहरु तथा विहे गर्नु अघि केटा पक्षले र केटी पक्षले गर्नु पर्ने अनि सुत्केरी हुनु अघि र भइसकेपछी माईति पक्षले गर्नु पर्ने कुराहरु पनि छन जुन पुरोहित वा पुस्तकहरुवाट जान्न सकिन्छ । त्यसको लागी एउटा छुट्टै पुस्तकनै वनाइएको छ र त्यसैवाट जिज्ञासुको लागी अनलाईन जानकारी दिन सकिन्छ । जो कोही सन्तानले मेरो वेवसाईटमा कमेण्ट गरेर सोध्न सक्नु हुनेछ ।

हामीले यो महत्वपूर्ण दस्तावेज बनाउदै छौं, यो एकचोटी पारित भईसकेपछी सवै सन्तानले लागु गर्नु पर्ने हुन्छ । यसर्थ यसमाथी अत्यन्त वौदिकतापुर्ण हिसावले शान्त भएर सोचेर वोल्ने वा लेख्न अनुरोध गर्दछु ।

अब हामीले केही फेरवदल गर्ने नगर्ने कुराहरुः प्रस्ताव, छलफल र निर्णयको लागी
क) मृत्यू पर्दाको वखत
१. खलकमा मृत्यू पर्दाः १३ दिन अनिवार्य वार्ने
(वार्ने भनेको पुजाआजा केही नगर्ने वर्जित गरिको खाने कुराहरु नखाने वा वर्जित गरिएको कुनै पनि काम कुराहरु नगर्ने र सकेसम्म चोखोनितिो गरी बस्ने) तर
२. आफ्नै वाजेको दाजुभाई खलकमा चाही ४५ दिन सम्मनै वार्ने ।
३. जुन घरमा मृत्यु परेको हुन्छ सो घरले अनुकुल अनुशार वर्ष दिन पनि वार्न सक्ने ।
४. जुठो परेको नौ दिनमा घरलाई लुगा इत्यादी सफा गर्ने र भेलि पल्ट दशौं दिनमा विहानै तोरीको पिनाले नुहाइधुवाई गरी तथा सुन पानी खाई सवैजना शुध्द हुने ।
५. उपस्थित हुन सके वेश आउन नपाई विदेशमा हुने दाजुभाईहरुले पनि अनुकुल मिले सम्म गर्न मिल्ने संस्कार गर्ने ।

ख) सुतक पर्दा
यो सुखद खबर हो । तर दाजुभाईको घरमा सुत्केरी अर्थात बालक जन्मदा पनि पुजाआजा वार्ने गरिन्छ । जस्तै छोरा जन्मदा ११ दिन र छोरी जन्मदा ५ दिन सम्म । यो अवधि भित्र घरमा पुजाआजा गरिदैन र मठमन्दिर र कतै शुभकार्यमा पनि नजाने चलन छ । त्यसपछी न्वारान अर्थात नामकरण संस्कार गरे पछि चोखिएको मानिन्छ र सवै वर्जित गरिएको काम हरु फुक्का हुन्छ ।

यो संस्कारमा चाही हामी अलिकती स्वतन्त्र हुनु पर्छकी जस्तो लाग्दछ । किनभने यो खुसीको वेला हो र आजकल बच्चा जन्मने वित्तिकै बधाई र शुभकामना दिने चलन पनि ह्वात्तै वढेको छ । यहा सम्म की बच्चा पेटमा हुदा देखिनै हर्षहरु उजगार गर्ने गर्दछन । विदेश तिर त झन हामी यहा दहि ख्वाउने भन्छौं उता चाही वेवी शावर गर्ने भने पश्चिमाको चलन अंगीकार गर्न थालेका छन । बरु एउटा सल्लाह त्यसलाई वेवीसावर नभनी दहीचिहुरा ख्वाउने भनेर ब्यानर लेखी किन नगर्ने । अखिर सेलिव्रेशन न हो । यो चाही गर्भाधान भएको आठ नौ महिनामा गरिने चलन हो । मूख्य कुरो यो वार्नुनै पर्ने संस्कार हो की होईन ? हमीले सोच्ने हो की, अर्थात वारे पनि जुन घरमा सुत्केरी भएको छ त्यही घरकोले मात्र बारे पनि हुने हो की? छलफल गरौं ।

उपरोक्त सवै मैले जानी नजानी सम्बन्धित पुस्तकहरु पढेर र आफ्ना जेठाबुढाहरु संग जिज्ञासा राखेर पाएको परामर्श अनुसार लिपिबद्ध गरेको छु । सवै भन्दा ठूलो कुरा परिवारले के वुझ्न जरुरी के हुन्छ भने हाम्रो हामिले गर्ने संस्कारहरु लिपिवद्ध हुन लागेको छ । यो हाम्रो भावि पुस्ताको लागी अत्यन्त उपयोगी हुनेछ । उनिहरुको लागी यो एउटा सटिक मार्गदर्शन हुने छ । हाम्रो बंशावलि त तयार भइसकेको छ र प्रथम प्रकाशन पनि भइसकेर सवैको हातमा पुगेकै छ । तर यसलाई अझ वढि प्रभावकारी र असरदायक वनाउनको निम्ति हाम्रो प्रतिष्ठानको कार्यसमितिले बंशावलि तथा हाम्रो ऋतितिथी तथा संस्कारको लिपिबद्ध संस्करणलाई ईन्टरनेटमा एउटा आफ्नै वेवसाईट खोलेर डिजिटलाईज्ड फर्ममा राख्ने निर्णय गरेको छ । यसो भयो भने हामी पृथ्वीको जुनसुकै कुनामा बसोवास गरेको भएता पनि आफ्नो गर्नु पर्ने संस्कार, आफ्नो सन्तानको नाताको नालीवेली आदि सम्पुर्ण सुचना पाउन सक्दछौं । कुनै पनि हांगाको कुनै पनि सन्तानको वारेमा हामी एकै क्लीकमा उसको तश्विर सहति सम्पूर्ण वायोडाटा डिटेल्स पाउन सक्नेछौं । चाहे सन्तानको वारेमा जानकारी लिन होस वा संस्कारको वारेमा जान्नको लागी होस, हामीलाई कुनै पनि प्रकारको भ्रम हुने छैन । यसले हामीलाई सदाकाल सम्म नजकतामा राख्दछ र एकशुत्रमा बाधींदिन्छ जसले हामी प्रत्येक सन्तानको हौसला, उमंग र हिम्मतलाई स्फुर्त राख्दछ । स्मरण रहोस बंशावलिको र रितिथितीको यस्तो रुप हाम्रो देशमा कमै मात्रमा भएको छ । यो निश्चित प्राय छ की हामीलाई सवैले अनुशरण गर्नेछन् । यसले पनि हाम्रो परिवारको गौरव वढाउने छ भन्ने लाग्छ । जय कुलदेवी ! जय भवानी !

—विश्व मल्ल
वरिष्ठ उपाध्यक्ष
राम–युग मल्ल प्रतिष्ठान